रवि लामिछानेको क्लबले रास्वपा कब्जा गर्‍यो : मुकुल ढकाल

30

काठमाडौँ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले सभापति लामिछानेको गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ । रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन ।’

साथै, उहाँले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको बताउनुभयो । ढकालले भन्नुभयो, ‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर, रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

रवि लामिछानेले आफ्नो गल्ती सबै अरुमा थोपार्ने काम मात्र गर्दै आएको पनि उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जिबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नुभएन, रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नुभयो । तर, उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नुभयो ।’

Share This:
सम्बन्धित खबर
Loading...