काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताउनुभएको छ ।
मंगलबार खगेन्द्र न्यु लाइफ एजुकेस्न सेकेन्डरी स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौँ, यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसइईमा राम्रो नतिजा लिएर पास हुनुभएको छ ।’
साथै उहाँले अहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदै छ भन्ने जनमानसको चासो रहेको बताउनुभयो ।
यसैबीच नेता कोइरालाले दुईवटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नुभएको छ । विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’
साथै उहाँले अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भनि टीकाटिप्पणी चलेका बेला सरकार ७६ (२) कै बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘शेखर त ७६ (३)कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनेँ । तर, मैले पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेका हौँ ।’
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भुपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष नारायण सुवेदी, वडा नम्बर–६ का वडाध्यक्ष नवराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए ।