काठमाडौँ, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठुला पार्टी मिले पनि मुलुकमा केही उपलब्धि हुन नसक्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठुलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए । बुढानीलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नुभएको छ । अब दुईवटा ठुला पार्टी मिसिएपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने मात्र हो ।’
पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न दिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्रीले बुझ्नुभएन खेल । पुस १० गते तपाईं जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा सुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला । तपाईं कति पटक बालकोट जानुभयो, कति पटक बुढानीलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ ? पछिल्लो पटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो ।’
धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएको पनि केसीले टिप्पणी गर्नुभयो ।