प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : योगेश भट्टराई

91

काठमाडौँ, २३ असार । नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताउनुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अस्थिरता हुन्छ भनेर हामी तलै बस्यौँ र प्रधानमन्त्रीजीलाई सहयोग गर्‍यौँ । तर, गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौँ ।’

उहाँले प्रधानमन्त्री प्रचण्डले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले एक पटक फेरि फर्केर हेर्ने बेला भएको छ । ०४६ सालको जनआन्दोलनमा नेकपा (एमाले) र कांग्रेसबीच सहकार्य नभएको भए देशमा बहुदलीय व्यवस्था आउँदैनथ्यो । तर, २८ गतेसम्म प्रधानमन्त्रीले के कुर्नुभएको हो थाहा छैन ।’

साथै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)लाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताउनुभयो । ‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो । तर, त्यसबेला निकै ढिलो भइसकेको थियो,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...