शिक्षामन्त्री श्रेष्ठको प्रश्न- ‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस् भन्दा तर्साएको हुन्छ ?’

48

काठमाडौँ, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न र पार्टीको कार्यक्रममा नगई विद्यार्थीहरुलाई सहज रुपमा शिक्षा प्रदान गर्नु भन्दा तर्साएको कसरी भयो भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ । शिक्षकहरुलाई दलको आवद्धता त्याग्नुस् भनेको तर्साउने काम गरिएको भन्दै हल्ला फैलाइयो । शिक्षकलाई पार्टीका कार्यक्रममा नगई कक्षामा विद्यार्थीलाई सहज वातावरण बनाइदिनुस् भन्दा कसरी तर्साएको भयो ?’

देशभरका निजी र सरकारी विद्यालयको नतिजामा केही फरक नभएको भन्दै उहाँले शिक्षाको गुणस्तर निरन्तर ओरालो लागिरहेको बताउनुभयो ।

‘सरकारी शिक्षकहरु राजनीतिक दलको जिम्मेवारी र सदस्यमा लागेर तालाबन्दी गर्ने, आन्दोलनमा गएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरी नतिजा खस्किरहेको छ’ उहाँको भनाइ छ ।

यसैगरी, मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र कमाउँदा कमाउँदै शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...