राजीनामा नदिइ फर्किए बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु [भिडिओ]

54

काठमाडौँ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पश्चात उहाँले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई समारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन । अहिले लोकतान्त्रिक विधि र पद्धतिमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर, हिजोको साझेदारी मात्र होइन धेरै मुद्दामा एकै ठाउँमा थियौँ । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई समारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुँदैन । त्यतिबेलासम्म हामी तपाईंलाई साथ दिन्छौँ भनेर भनेका छौँ ।’

प्रधानमन्त्रीले संसद्लाई फेस गरेर जबाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद् फेस गर्न आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसद्लाई फेस गर्छु । किनभने मैले संसद्लाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईंहरुले साथ दिनुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभयो । जतिसक्दो छिटो संसद्लाई फेस गर्ने काम मिलाउनु होला भन्यौँ । यसबारेमा पार्टीमा आन्तरिक छलफल गर्छौँ र जानकारी दिन्छौँ भनेर हामी निस्किएका हौँ ।’

उनीहरु रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरुको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...