कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : शेखर कोइराला

61

वीरगञ्ज, १९ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताउनुभयो । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाइ थियो ।

उहाँले नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गर्नुभयो । अबको सरकारले अस्थिर राजनीतिको अन्त्यका लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउँदै सुशासनका लागि कांग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताउनुभयो ।

कांग्रेस सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, प्रदेशसभा सदस्य श्याम पटेल, शङ्कर चौधरी,पूर्वमन्त्री सुरेन्द्र चौधरी, लगायतको सहभागिता थियो ।

Share This:
सम्बन्धित खबर
Loading...