काठमाडौँ, ३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । बिहीबार दिउँसो उहाँले प्रदेशसभाबाट २८ मत पाउनुभयो ।
५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उहाँको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रक्रियामा भाग नलिए पनि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो ।
कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिएलगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गर्नुभएको थियो ।
त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरिएर मतदान प्रक्रियामा सहभागी बनेनन् ।