अर्थमन्त्री पुन भन्छन्- ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

32

काठमाडौँ, २ जेठ । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममा समग्रमा सबैतिरबाट उत्साहजनक प्रतिक्रिया आएको बताउनुभएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले नीति कार्यक्रम उत्साहजनक आएको भन्दै यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नीतिहरुसँग मेल खाने बजेट र बजेटसँग मेल खाने मौद्रिक नीति आउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा धेरै विषयहरु आएका छन् । नीतिगत रुपले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नै मुख्य छ । विभिन्न क्षेत्रहरु सम्बोधन गरिएको छ र समग्रमा सबैतिरबाट उत्साहजनक आएको छ भन्ने प्रतिक्रिया प्राप्त गरेका छौँ । विगतमा बेला बेला प्रश्न उठाएको जस्तो यसपटक हुँदैन । नीति तथा कार्यक्रमकै वरिपरीबाट आएका नीतिहरुसँगै मेल खानेगरी बजेट आउछ, त्यसैगरी बजेटसँग मेल खानेगरी मौद्रिक नीतिहरु आउँछ यो हाम्रो छलफलको प्रतिबद्धता हो ।’

नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उहाँले निरुत्साहित नहुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था सुधार गर्ने, सबैको मनोबल बढाउने, व्यवसाय र उद्याममैत्री वातावरण बनाउने जसले स्वभाविक रुपले यहाँ काम गर्ने वातावरण बन्छ । कुनै क्षेत्र विशेषलाई तार्गेट गरेर सरकारले काम गर्दैन । यहाँहरु निरुत्साहित हुनुहुँदैन, हामीलाई पनि दबाब दिनु प्रेरित गर्नु, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध नै छ । बजेटमार्फत् पनि यो कुरा देख्नुहुनेछ, नियमभित्र बसेर, यथार्थ धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गर्छौँ ।’

उहाँले कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नभएर उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कृषिलाई आधारभूत जगको रुपमा राखेका छौँ । कृषि क्षेत्रलाई पनि निर्वाहमूखी मात्र नभएर यसलाई उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने छौँ । त्यसको लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने र आवश्यक नीति ल्याउने कुरामा ध्यान दिने नै छौँ ।’

बजेट निमार्णमा नेपाल राष्ट्र बैंक, गभर्नरलगायत विभिन्न तहमा पदाधिकारीहरुको सुझाव प्राप्त गरेको भन्दै सरकारले कसैलाई खाका र कसैलाई पाखाको नीति नलिने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...