गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले पाएनन् ज्याला, भोकभोकै काम गर्नुपरेको गुनासो

12

झापा, १ जेठ । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् ।

चिया बगानमा १७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२/१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए । ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई भएको छ,’ एक मजदुरले भन्नुभयो । चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने मजदुरले साहुले पनि बाँकी ज्याला दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाइ छ ।

मजदुरले तत्काल ज्याला उपलब्ध गराइदिन माग गरेका छन् । तीन पुस्तादेखि यही बगानमा चियापत्ति टिपेर गुजारा गर्दै आएका मजदुर पारिश्रमिक नपाएपछि भोकै रहन बाध्य भएको बताउँछन् । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै मजदुर नेतृ सावित्रा बञ्जराले अनेक समस्याहरुका बाबजुद काम गर्नुपरेको बताउनुभयो । उहाँले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गर्नुभएको छ ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाइ छ । उहाँका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ । दैनिक ५०० रुपैयाँका दरले ज्याला पाउने मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको उनीहरुको भनाइ छ ।

सञ्चालकले बगान फाड्ने र घाटामा गएको देखाउँदै मजदुरलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिँदै मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाइ छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदै मजदुरले असुरक्षा बढिरहेको बताउँछन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताउनुभयो । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गर्नुभएको छ । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरु केहि मागेका छैनौँ,’ उहाँले भन्नुभयो ।

बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताउनुभयो । ‘अलिकति भुक्तानी दिन खोजेका थियौँ । उहाँहरुले लिन मान्नु भएन । केहि दिनमा एक महिनाको तलब भए पनि दिने योजनामा छौँ,’ उहाँले भन्नुभयो । सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन रहेको बगान व्यवस्थापनले जनाएको छ ।

नगरपालिकाको ध्यानकाकर्षण
यसैबीच फागुनदेखि ज्याला नपाएका मजदुरले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले न्यायका लागि ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । बिर्तामोड नगरपालिका ६ र अर्जुनधारा नगरपालिका ११ मा अवस्थित गिरीबन्धु टि इस्टेटमा कार्यरत श्रमिकहरुलाई पाक्षिक भुक्तानी दिने व्यवस्था रहेको थियो । तर, फागुन ३० गतेदेखि ०८१ वैशाख २८ गतेसम्मको चार पटकको भुक्तानी रोकिएको मजदुरले बताएका छन् ।

ज्ञापनपत्र बुझाउँदै उनीहरुले समस्या समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जवाफदेही नहुने ज्ञापनपत्रमा उल्लेख छ । गिरी बन्धु टि इस्टेटका व्यवस्थापकलाई ज्ञापनपत्रको बोधार्थ पठाइएको छ ।

सट्टापट्टा गर्ने योजना तुहियो
हदबन्दीभन्दा बढीको जमिन सट्टापट्टा गरेर बिक्री वितरण गर्ने तयारी गरेका बगान सञ्चालकको योजना सर्वोच्च अदालतको आदेशबाट तुहिएको छ । अदालतले हदबन्दीभन्दा बढीको जमिन सट्टापट्टा तथा बिक्री गर्न नपाउने फैसला गरेको हो । अदालतको फैसलाले २०६० सालमा बगान मासेर भिटौरी बनाएको बिर्तामोड बसपार्क रहेको ५१ बिगाहा जमिन पनि सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...