आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ, नागरिक उत्साहित हुनेछन् : अर्थमन्त्री पुन

19

काठमाडौँ, २७ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउने बताउनुभएको छ ।

बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले देशको अवस्था गत वर्षभन्दा राम्रो रहेको भन्दै बजेटमार्फत अर्थतन्त्र सुधारको वातावरण बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशलाई उचित हुने, निजी क्षेत्रलगायतलाई राम्रो हुनेगरी काम गर्छौँ । योभन्दा अरु विकल्प थिएन भन्ने खालको बजेट निर्माण गर्न खोजिरहेका छौँ । देशको आर्थिक अवस्था चलाएमान बनाउनका लागि केही स्थानमा बोल्ड निर्णय पनि लिुनपर्ने छ । हामीले समग्र बजेटमा अर्थतन्त्र चलायमान बनाउने आशा जगाउन सकिन्छ भन्ने विश्वास छ । त्यो वातावरण बनाउने प्रयासमा छौँ ।’

उहाँले जति समय मन्त्रालयमा बसे पनि देश, नीजि क्षेत्र र जनताको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताउनुभयो । उहाँले वित्तीय र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको भन्दै यसपाली नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वित्तीय नीति र मौद्रिक नीतिको एकरुपता हुनुपर्छ भन्ने कुरा आयो त्यसमा हामी कटिबद्ध छौँ र छलफल पनि गरिरहेका छौँ । किनभने धेरै टाढाको निकाय होइन, एउटा कार्यगत स्वायतता पाएको निकाय हो, दिनदिनैका काममा सबैले चासो लिनु पर्छ । यसपटकको राम्रो चाही नीति कार्यक्रम एकातिर लाग्ने बजेट अर्कोतिर र मौद्रिक नीति तेस्रो बाटो लाग्ने र बाटो फरक फरक यस्तो खाले हुँदैन ।’

आर्थिक र प्रशासनिक विषयहरुका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको सन्दर्भमा अर्थमन्त्री पुनले सबै मनोबल उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘सम्पत्ति, परिवार र व्यवसायको सुरक्षा हुन्छ भन्ने कुरामा म विश्वस्त दिलाउन चाहन्छु । मनोबल कायम गर्ने कोसिसमा छौँ । सरकारको तर्फबाट कमी भएको स्थानलाई सहज बनाउछौँ,’ उहाँले भन्नुभयो ।

सरकारले कुनै पनि निर्णय एक्लै नगर्ने उल्लेख गर्दै मन्त्री पुनले निजी क्षेत्रको सहभागिता बिना कुनै पनि कानुनहरु बन्न नसक्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...