काठमाडौँ, १ वैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौँ जिउँदो र क्रियाशील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज (शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पार्नुभएको छ ।
नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गर्नुभएका उहाँले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गर्नुभयो ।
शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौँको थापाथलिमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घन्टासम्म विभिन्न व्यक्तिहरुलाई शुभकामना र हौसला प्रदान गर्नुभएका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताउनुभयो ।
लामिछानेले भन्नुभयो, ‘यो सहर जिउँदो जाग्दो र क्रियाशील सहर हो भन्ने कुरा हमीले जनतालाई महसुस गराउनुपर्ने हुन्छ । त्यसको यो सुरुआत मात्र भएको हो ।’
उहाँले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानुन कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गर्नुभयो ।
‘नियम र कानुनहरु कडाइ साथ पालना हुन्छन् । नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज हुँदैन । यही उद्देश्य लिएर हामी अगाडि बढेका छौँ । आगामी दिनमा अरु थुप्रै त्यस्ता कार्यक्रमहरु हामी लिएर आउँछौँ,’ उहाँले भन्नुभयो ।
थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाई दिएर शुभकामना दिनुभएका गहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरुवात गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको धारणा राख्नुभयो ।