- आकाङ्क्षा धामी
काठमाडौँ, २७ पुस । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन आइतबार र सोमबार (२७ र २८ गते) काठमाडौँमा हुँदै छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहको पहलमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन हुनुपर्ने धारणा राख्दै आएको छ ।
विशेष महाधिवेशनको घोषणापछि पार्टी विभाजनतर्फ जान सक्ने आशंका र आलोचना पनि बढ्दै गएको छ । तर, विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी फुटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।
यसैबीच नेपाल न्यूज बैंकले विशेष महाधिवेशनका लागि काठमाडौँ आएका जनप्रतिनिधिहरूसँग कुराकानी गरेको छ । उक्त कुराकानीमा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले विशेष महाधिवेशन किन तत्काल आवश्यक भएको हो भन्नेबारे आफ्नो धारणा राख्नुभएको छ ।
यादवले विशेष महाधिवेशन पार्टी सुधार र रुपान्तरणका लागि आवश्यक भएको बताउनुभयो । उहाँले देशको पछिल्लो राजनीतिक अवस्था, जनआन्दोलनपछि सिर्जित परिस्थिति, जनधनको क्षति र राजनीतिक दलहरूप्रति जनविश्वास कमजोर बन्दै गएको सन्दर्भ उल्लेख गर्दै पार्टीभित्रैबाट सुधार सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यादवले नियमित महाधिवेशन हुन नसक्नुको मुख्य कारण क्रियाशील सदस्यता वितरणमा भएको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले मधेस प्रदेशका कुनै पनि जिल्लामा नियमित रूपमा क्रियाशील सदस्यता नदिइएको दाबी गर्दै, महामन्त्री गगन थापाले पटक–पटक निर्देशन दिएपनि कार्यान्वयन नभएको बताउनुभयो । यसबाट पार्टीभित्र नियोजित रूपमा प्रक्रिया अवरुद्ध गरिएको उहाँको आरोप छ ।
उहाँले विशेष महाधिवेशन विधानसम्मत रहेको दाबी गर्दै पार्टी फुट्ने हल्ला निराधार भएको बताउनुभयो । यादवले भन्नुभयो, “विशेष महाधिवेशन किन तत्काल गर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । जेनजी आन्दोलनपछि देशको जुन परिस्थिति बनेको छ, त्यसलाई अझै पनि राष्ट्रिय र क्षेत्रीय दलका शीर्ष नेताहरूले बुझ्न सकेका छैनन् । ७०–७५ जना दाजुभाइ–दिदीबहिनीहरूको ज्यान गइसकेको छ, ७०–८० अर्ब रुपैयाँ बराबरको भौतिक संरचना नष्ट भइसकेको छ । यति हुँदासमेत राजनीतिक दलहरूले आत्मसमीक्षा गरेका छैनन् ।”
उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको राजनीतिक दलको छवि गम्भीर रूपमा खस्किएको उल्लेख गर्दै भन्नुभयो, “आज नेपालमा नेताहरूलाई लखेटी–लखेटी कुटिन्छ, हेलिकोप्टरबाट भाग्नुपर्ने अवस्था छ । यति ठुलो क्षतिपछि पनि स्वीकार गर्न तयार नहुनु गम्भीर विषय हो । त्यसैले पार्टीभित्रैबाट सुधार सुरु गर्नुपर्छ । यो महाधिवेशन पार्टी फुटाउन होइन, कांग्रेसलाई एकताबद्ध र चलायमान बनाउनका लागि हो ।”
नेपाली कांग्रेसले इतिहासमा परिवर्तनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै यादवले कांग्रेसभित्र रुपान्तरण नभएसम्म देशमा निकास नआउने दाबी गर्नुभयो । “नेपाली काङ्ग्रेस परिवर्तन हुँदा–हुँदै देशले दिशा पाएको छ । अहिले काङ्ग्रेसबाट सुरु गरेर एमाले, माओवादी, मधेसी तथा क्षेत्रीय दलहरूसम्म संगठनभित्र युवालाई ल्याएर देशलाई मूलधारमा लैजान विशेष महाधिवेशन आवश्यक छ,” उहाँले भन्नुभयो ।
यसैगरी नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सीता मिजारले पार्टी विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्थामा विशेष महाधिवेशन आह्वान गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो । “विधानमै व्यवस्था भएको प्रक्रियाअनुसार महाधिवेशनको माग गरिएको हो,” उहाँले भन्नुभयो ।
उहाँले कार्यसमितिले विशेष महाधिवेशन नगरे पार्टी कार्यालयले गर्न सक्ने व्यवस्था विधानमै रहेको उल्लेख गर्नुभयो । “विधानमा लेखिएको कुरा अनुसार अघि बढ्दा पार्टी फुट्छ भन्ने हो भने विधान नै गलत भयो,” मिजारले भन्नुभयो । उहाँले देशभरिका महाधिवेशन प्रतिनिधिहरू अबुझ नभएको र समयको मागअनुसार नीति र नेतृत्व परिवर्तन चाहेको बताउनुभयो । “नेपाली काङ्ग्रेस सधैँ परिवर्तनकारी पार्टी हो । समय र परिस्थितिलाई सम्बोधन गर्ने क्षमता काङ्ग्रेससँग छ,” उहाँले भन्नुभयो ।
अन्य प्रतिनिधिहरूले पनि जनआन्दोलनपछि जनताले चाहेको परिवर्तन कांग्रेसले आत्मसात् गर्न नसके आगामी निर्वाचनमा पार्टी कमजोर हुने चेतावनी दिनुभयो । उनीहरूले यथास्थितिमा चुनावमा जान कठिन हुने र नेतृत्व परिवर्तन अपरिहार्य भएको बताउनुभयो । विशेष महाधिवेशन पक्षधरहरूले यसलाई पार्टीलाई रुपान्तरण गर्ने, नीति निर्माण गर्ने र नयाँ नेतृत्व चयनको बाटो खोल्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।
उनीहरूका अनुसार केन्द्रीय समितिले समयमै प्रक्रिया अघि नबढाएकाले बाध्यात्मक रूपमा विशेष महाधिवेशन आयोजना गर्नुपरेको हो ।
महाधिवेशन आयोजक पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको र उहाँ उपस्थित हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी विशेष महाधिवेशनका समर्थक तथा महाधिवेशन प्रतिनिधि अमिर मादेनले अहिलेको राजनीतिक परिस्थिति र चुनावी समयतालिकाका कारण नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बतानुभयो । उहाँले फागुन २१ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा चुनावमा जानुअघि पार्टीले कम्तीमा विशेष महाधिवेशनमार्फत केही ठोस निर्णय र टुङ्गो लगाउनैपर्ने अवस्था आएको बताउनुभयो ।
मादेनका अनुसार अहिलेको राजनीतिक ‘मोमेन्ट’ लाई बुझेर नै देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । “विशेष महाधिवेशन भनेको के हो भने महाधिवेशन प्रतिनिधिहरूले अहिलेको समयको मागअनुसार नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाज उठाएका हुन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ नेतृत्वमा जो–कोही सभापति हुन सक्ने व्यवस्था छ र वर्तमान अवस्थामा युवा नेतृत्वप्रति ठुलो आकर्षण देखिएको बताउनुभयो ।
केन्द्रीय कार्यसमितिले अहिलेको परिस्थितिलाई नबुझे नेपाली कांग्रेस भारतको कांग्रेस आईजस्तै कमजोर अवस्थामा पुग्न सक्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “यही कारणले ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरूले बुझेरै २७ र २८ गते विशेष भेला बोलाएका हुन् ।” यसले पार्टीमा नयाँ मोड ल्याउने र कांग्रेसलाई नयाँ उचाइतर्फ लैजाने उहाँको विश्वास छ ।
मादेनले पार्टी सभापति शेरबहादुर देउवाले पनि यो आवश्यकता बुझ्ने विश्वास व्यक्त गर्दै उद्घाटन कार्यक्रममा सभापति उपस्थित हुने आशा व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन नेपाली कांग्रेसलाई बलियो र मजबुत बनाउनका लागि आवश्यक भएको बताउनुभयो । “अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन पुगेको छ र देशव्यापी माहोल हेर्दा यो संख्या ७० प्रतिशतसम्म पुग्ने सम्भावना छ,” उहाँले भन्नुभयो ।
देशभरबाट युवाहरू र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ केन्द्रित हुनुको कारण कांग्रेसलाई जोगाउने, संस्थागत रूपमा बलियो बनाउने र पार्टीलाई मजबुत दिशामा लैजानु भएको मादेनको भनाइ छ । उहाँले आउने सबै प्रतिनिधिलाई स्वागत गर्दै नआउने प्रतिनिधिहरूलाई पनि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो ।
पार्टी फुट्ने हल्ला निराधार भएको भन्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस फुट्दैन, यो महाधिवेशन पार्टी जुटाउनका लागि हो ।” विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाइसकिएको जानकारी दिनुभयो ।
उहाँले पार्टी फुट्ने अवस्था आए त्यसको जिम्मेवारी विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नभइ विधान र बहुमतको निर्णय नमान्ने नेतृत्वको हुने बताउनुभयो । “विधानभन्दा माथि कोही छैन । विधान बनाउने पनि यही ४,५०० महाधिवेशन प्रतिनिधिहरू हुन्,” उहाँले भन्नुभयो ।
मादेनले अहिलेको पुस्ताले नयाँ, युवा नेतृत्व खोजेको स्पष्ट पार्दै ३०–३५ वर्षदेखि एउटै ढाँचामा पार्टी चलाउँदा न पार्टी अगाडि बढ्ने न देशले निकास पाउने बताउनुभयो । युवाहरू स्वच्छ छवि र ऊर्जावान भएको उल्लेख गर्दै उहाँले कांग्रेसभित्र थुप्रै सक्षम युवा नेताहरू रहेको दाबी गर्नुभयो ।
“पुरानो पुस्ताको झोला बोकेर, पुरानै सोचमा हिँडेर अब देश र पार्टी अगाडि बढ्न सक्दैन,” उहाँले भन्नुभयो । ग्रासरुट तहमा कांग्रेसको मत कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले समयमै निर्णय नलिए पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिनुभयो ।
उहाँले सबै नेताहरूलाई समयको माग बुझेर एकजुट हुन आग्रह गर्दै भन्नुभयो, “नेपाली कांग्रेस भारतको कांग्रेसजस्तो कमजोर नबनोस् । समयमै विशेष महाधिवेशनमार्फत टुंगो लगाएर पार्टीलाई सही बाटोमा हिँडाउनु आजको अनिवार्य आवश्यकता हो ।” –नेपाल न्यूज बैङ्क