ठमेल नयाँ वर्षदेखि २४सैँ घन्टा खुल्ने

25

काठमाडौँ, २९ चैत । संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४सैँ घन्टा खुला रहने भएको छ ।

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४सैँ घन्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै सहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सैँ घन्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४सैँ घन्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताउनुभयो । ‘सरकारले बातावरण बनाइदिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उहाँले भन्नुभयो ।

त्यस क्षेत्रको सुरक्षा प्रबन्ध र व्यवस्थापनको काम भने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ देखि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।

अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रीकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागु गर्दै छ ।

मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...