खेलाडीको बक्यौता यही हप्ता आउँछ : खेलकुदमन्त्री श्रेष्ठ

92

काठमाडौँ, २६ चैत । पुरस्कार घोषणा गरेर पनि नबाँडेको सरकारले यही साता खेलाडीको बक्यौता फर्छ्र्यौट गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताउनुभएको छ ।

राजधानीमा विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उहाँले खेलाडीहरुको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालयमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै जना जिम्मेवार र आफ्नो ठाउँबाट काम गर्न सक्ने हो भने खेलकुदको लागि नयाँ युग नै सुरुवात हुन्छ । खेलाडीहरुको पुरस्कारको कुरा पनि खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढाएर अहिले अर्थ मन्त्रालयमा छ । हामी सबैको आशा छ, यो हप्ताभित्र खेलाडीहरुको त्यो बक्यौताहरु सबैले पाउनुहुन्छ ।’

उहाँले नीतिगत तहमा केही उपलब्धिहरु हासिल भएको उल्लेख गर्नुहुँदै खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई आबद्ध गराउने विषयमा छलफल जारी रहेको बताउनुभयो । खेल क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रसँग संवादमा रहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नीतिगत तहमा पनि केही उपलब्धिहरु हासिल गर्न सफल भएका छौँ । अब खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई पनि कसरी आबद्ध गर्ने कुराहरु छलफल गर्दा यो पालिको मौद्रिक नीतिमा पनि कर्पोरेट क्षेत्र, वित्तीय संस्थाहरुले पनि खेलकुदलाई कसरी माथि उठाउने, त्यसमा उहाँहरुको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीहरुलाई कसरी खर्च गर्ने भन्ने कुरा छलफल गर्दा त्यसमा पनि सकारात्मक कुराहरु आएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...