सहकारी ठगी प्रकरण : संसद्‌मा कांग्रेसको अवरोधबारे सभामुखले बोलाए चार दललाई छलफलमा

49

काठमाडौँ, २६ चैत । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्‌मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिनुभएको छ ।

सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्‌मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाउनुभएको छ । सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गर्नुभएको हो ।

अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...