काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंगलबार गर्ने जन प्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले निषेधित क्षेत्र घोषणा प्रजातन्त्रको भावना र संविधानविपरीत भन्दै राप्रपाले विरोध र उल्लंघन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी त्यो निषेधित क्षेत्रहरु मान्दैनौँ । अहिले जुन निषेधित क्षेत्र घोषणा गरेको छ त्यो प्रजातन्त्रको भावनाविपरीत र अहिलेकै संविधानको मर्मको पनि विपरीत छ । भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानले दिएको जनताको अधिकार हो । विचार स्वतन्त्रता प्रदर्शन स्वतन्त्रतालाई निषेधित गर्ने कुराको राप्रपाले विरोध गर्छ । र, त्यसको उल्लंघन गर्छ ।’
राजादेखि माओवादीसम्म अब सबै राजनीतिक दल र शक्तिहरु अटाउने नवीन समझदारी गरी नयाँ व्यवस्था सम्झौतामा आउने उद्देश्यले प्रदर्शन गर्न लागेको उहाँले जिकिर गर्नुभयो । प्रदर्शनले दलहरुमा परिवर्तन आएन भने आन्दोलनलाई विभिन्न स्वरुपमा निरन्तर अगाडि बढाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैले आफ्ना गल्ती कमजोरी महसुस गरेर अब राजादेखि माओवादीसम्म, सबै राजनीतिक दल र सबै शक्तिहरु अटाउने एउटा नवीन समझदारी गरेर देशलाई पहिलेको व्यवस्थामा पनि फर्काउने होइन, यहीँ पनि राखिराख्न सकिँदैन । पहिलेका र अहिलेका समेत राम्रो कुरा समेटेर नयाँ व्यवस्था सम्झौतामा जाऔं भन्ने हिसाबले दबाब सृजना गर्न २७ गते प्रदर्शन गर्न लागेको हो । यसले पनि उहाँहरुमा परिवर्तन आएन भने हामीले आन्दोलनलाई फेरि निरन्तर रुपमा विभिन्न स्वरुपमा अगाडि बढाउँछौ ।’
आन्दोलनमा ५०औँ हजारको जनसहभागिता रहने उहाँको दाबी छ ।