काठमाडौँ, २५ चैत । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री लामिछानेसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितले उपनिर्वाचनमा सुरक्षा व्यवस्थाको प्रबन्ध र निर्वाचनसम्बन्धी कानुनबारे छलफल गरेको हो ।
छलफलपछि आयोगको कार्यालयबाट बाहिरिँदै गृहमन्त्री लामिछानेले निर्वाचनलाई सही ढंगले लिएर जाने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो निर्वाचन प्रणालीमा राजनीति विचलन देखिएको छ । जसका कारण प्रभाव परेको छ । यसलाई सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा अत्यन्त प्रभावकारी बनाउने कुरा निर्वाचन आयोगले राखेको छ ।’
निर्वाचन र राजनीतिक दलहरुसम्बन्धी कानुनहरू ऐनमा समावेश गर्न सकिए दलहरूको चरित्र र सरकारको काम कारबाहीका विषयमा कोसेढुंगा सावित हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यदि हामीले राजनीतिक दलसम्बन्धी कानुनको कुरा र निर्वाचन आयोगसम्बन्धी कानुनको कुराहरूको व्यवस्था यदि कानुनमै गर्न सकियो भने निर्वाचनमा जुन अपेक्षा गरिएको छ । राजनीतिक दलहरूको चरित्रका विषयमा र त्यसबाट प्रेरित भएर सरकार कसरी अगाडि बढिरहेको भन्ने विषयमा यो एकदमै कोसेढुंगा सावित हुनेछ ।’
महत्वपूर्ण विषयमा निर्वाचन आयोगसँग छलफल भएको बताउनुभएका उहाँले यी विषयहरूलाई विधेयकमा समावेश गरि छिट्टै नै सदनमा लगिने बताउनुभयो ।
आउँदो बैशाख १५ गते हुने बझाङ र इलामको उपनिर्वाचनलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न गृह मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।