काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई विराटनगरमा सम्बोधन गर्नुहुँदै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताउनुभयो ।
‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन् । हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौँ । तर, सरकार अटेरी गरिरहेको छ । किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन् । उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भन्नुभयो ।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताउनुभयो । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रहेकाले उहाँको हालको क्याबिनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाउनुभयो ।