काठमाडौँ, २४ चैत । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताउनुभएको छ ।
शनिबार नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा उहाँले विगतको सरकार रहनु भनेको बर्बादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किन भने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छको अवस्थामा थियो । गोठमा बाधेको गाई भैँसी जस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन । अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बर्बाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौँ ।’
विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो सरकार के हो भने चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको थियो त्यसकारण हरेक क्षण दुर्घटना हुने खतरामा थियो । तरलता बढी हुँदा पनि खर्च गर्न नसक्ने तात्कालीन सरकार हो । त्यही हिसाबले सरकार परिवर्तन गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका थियौँ । यो कुनै लुकाएर गरिएको काम थिएन ।’
सिन्डिकेट खडा गरेर अल्पकालिन नाफाको लागि जान नसक्ने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उहाँको भनाइ छ । फरक प्रसंगमा उहाँले पार्टीलाई सुदृढ बनाउन र समाजवादको आधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।