लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेका छौँ : मन्त्री चौधरी

48

काठमाडौँ, २२ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले लैंगिक हिंसा ऐनको मस्यौदा बनाइराखेको जानकारी दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उहाँले यो जानकारी गराउनुभएको हो । महिलाविरुद्ध हुने भेदभाव उन्मूलन समितिले नेपाल सरकारलाई जारी गरेको सूचीमध्येको मानव बेचबिखन तथा लैंगिक हिंसासम्बन्धी छलफलमा सैद्धान्तिक अवधारणा पत्रका लागि ऐनको मस्यौदा तयार भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरूका लागि कानुन त धेरै बनेको छ । कानुन भएपछि बल्ल सुरुवात हुने हो । त्यसपछि कार्यान्वयनमा जोन नजाने भन्ने हुन्छ । त्यसकारण यो सैद्धान्तिक सम्बन्धी लिने अवधारणा पत्रको लागि लैंगिक हिंसा ऐनको मस्यौदाको ड्राफ्टहरु बनाइराखेको छौँ । ड्राफ्टहरु हुँदाखेरि कानुनी परामर्श पनि लिइन्छ । खर्चको कुरा आयो भने अर्थ मन्त्रालयसँग पनि सहकार्य हुन्छ । यसरी मात्र यसलाई ऐनको रुपमा विधेयकको रुपमा अगाडि बढाइन्छ । र, मन्त्रिपरिषद् जानु पर्‍यो भने त्यहाँ पनि गइन्छ ।’

लैंगिक र समानता नीति बनाएको भए पनि अझै महिलामाथिका हिंसाका घट्ना भने कम नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लैंगिक र समानता नीति २०७७ त छ । समानता नै गर्ने भनेर भनेको छ । तर, पनि देशमा हिंसाहरु भइरहेको नै छ । मेरै क्षेत्रको कुरा गर्दा महिनामा नै हिंसाका ५ वटा घटना आउँछन् । बालबालिका जबर्जस्तीकरणीको आउँछ । बढीजस्तो छ जबर्जस्तीकरणीको नै घटना आउँछ । बेचबिखनको कुरा पनि आउँछ । फर्काएर त ल्यायो तर समाजको नजर उनै नराम्रो बन्छ ।’

समतामूलक समाजको परिकल्पनासहित ऐनका लागि मस्यौदा तयार भएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...