काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टीभित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गर्नुभयो ।
शर्माले भन्नुभयो, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरि म के आग्रह गर्दछु भन्दा त्यो पार्टीभित्र एउटा कोर टिम रहेछ । जो सहकारीको रकम ठगीमा संलग्न छ । अर्को एउटा कोर टिम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ ।’
देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौँ रकम हिनामिना गरी फरार र रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्नुहुँदै शर्माले राई मलेसिया रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले आरोप लगाएको होइन, खोज्ने काम सरकारले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीवि राई गृहमन्त्रीको सम्पर्कमा छन् । आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा राख्ने तथ्यमा हामी पुगिसकेका छौँ ।’
सरकार बलजफ्ती गरेर आए सदन चल्न नदिने शर्माको चेतावनी दिनुभयो ।