काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा उहाँले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर, नेपालीहरु कति संख्यामा छन्, उनीहरुको अवस्थाको बारेमा सरकार बेखबर मात्र होइन जान्ने प्रयास पनि गरेको छैन । सरकारले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस कति संख्या छन भन्ने पनि पत्ता लगाउन सकेको छैन । सरकारको तर्फबाट हुनुपर्ने पहल हुन सकेको छैन् । यसमा गम्भीर ध्यानाकर्षण गर्न चहान्छु । यस्तो अवस्थामा रुसमा जान प्रतिबन्ध लगाउनुपर्ने ठाँउमा श्रम मन्त्रालयले रुस जान श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।’
यसका साथै उहाँले काठमाडौँ विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दै राज्यले यसको लागि आवश्यक कानुन, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौँ विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक गरेको छ । नेपालमा कुनै कुरा उत्पादन हुनु आफैमा एउटा ठुलो विषय हो, त्यसमाथि यो ग्रिन हाइड्रोजन भनेको क्लिन ग्रिन इनर्जी हो । जुन अहिलेको अवस्थामा निकै महत्वपूर्ण छ । ठुलो उपलब्धि हो । एउटा विश्व विद्यालयको अनुसन्धानले सफलतापूर्वक परीक्षण गरेको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर यसको लागि आवश्यक पर्ने कानुन, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्छ ।’
आयात गर्ने फ्युलको विकल्प ग्रिन हाइड्रोजन बन्न सक्यो भने नेपालले आर्थिक क्षेत्रमा ठुलो फड्को मार्न सक्ने भन्दै नेपाल यस विषयमा आत्मनिर्भर हुन सक्यो र उत्पादन अन्तर्राष्ट्रिय बजारमा लान सक्यो भने नेपाललाई ठुलो लाभ हुने पनि उहाँ भनाइ छ ।