काठमाडौँ, १८ चैत । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संविधानले निर्देश गरेका कानुनहरु बनाउने सवालमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विषेश समयमा बोल्नुहुँदै उहाँले दलका प्रतिनिधिहरु सदनभित्र बस्दा जुन–जुन खण्डमा गएर बसेपनि कानुनहरु बनाउने सवालमा सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘टिआरसीसँग सम्बन्धित कानुन बनेको छैन । हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन खण्डमा गएर बस्छौँ कहिले कुन खण्डमा बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ ।’
उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित कानुन खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगको विषय पनि अल्झिएर बसेको भन्दै त्यसलाई छिट्टै टुङ्ग्याउनु आवश्यक रहेको पनि बताउनुभयो ।