काठमाडौँ, १८ चैत । प्रधानमन्त्रीले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले गृहमन्त्री लामिछाने प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढंगले क्लीन चिट दिने प्रयास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौँ न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढंगले क्लीन चिट दिने प्रयास गर्नुभयो । यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रश्न जन्मिएको छ ।’
उहाँले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताउनुभयो । कानुनी मात्र नभइ नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौँ सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो ।’