पशुपति शमशेर भन्छन्- ‘वर्तमान गठबन्धनको आयु ४ महिना’

39

काठमाडौँ, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताउनुभएको छ ।

शनिबार महाराजगञ्जस्थित विजय बासमा पत्रकारहरुसँग अनौपचारिक सम्वाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूर्णकार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । तर, एमाले र माओवादीसहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताउनुभयो ।

ठट्यौली शैलीमा हाँस्दै राणाले भन्नुभयो, ‘बढीमा चार महिना !’

नेता राणाले वर्तमान प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो ।

आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रित पत्रकारहरुसँग मिसिएर राणाले भन्नुभयो, ‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दैजाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकेँ, एकतिहाई भने पूरा गर्न बाँकी छ ।’

नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसँग सुनाउनुहुँदै पिता विजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । उहाँले आफूले पनि महत्वपूर्ण समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउनुहुँदै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिनुभयो ।

नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...