इलाम-२ को उम्मेदवार चयन काठमाडौँको गोप्य कोठामा हुँदैन : महामन्त्री थापा

78

कपिलवस्तु, १७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम-२ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताउनुभएको छ ।

‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापतिलगायत सात जना हुनुहुन्छ । उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सीमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ । एक जना छान्दा अरुलाई अन्याय भयो भन्ने लाग्छ । कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्‍यो । चुनावभन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्‍यो । सर्भेले अलोकप्रिय ठहर्याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्‍यो । होइन भने जिल्लाकै साथीहरुले निर्णय गर्नुपर्छ । नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’ महामन्त्री थापाले भन्नुभयो ।

शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्नुहुँदै इलामको उम्मेदवार काठमाडौँमा चयन गर्नु गलत भएको बताउनुभयो । महामन्त्री थापाले भन्नुभयो,‘भोलि चुनाव जिताउने बेलामा उहाँहरु सबै जुट्नुपर्छ । उहाँहरु नै हो खट्नुपर्ने । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरुलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस र जिताओस् ।’

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ । अन्य सबै राजनीतिक दलहरुले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरेपनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन । गत भदौमा एमाले उपाध्यक्ष एवम् उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...