काठमाडौँ, १४ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधै गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उहाँले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै छ । त्यस्ता गुनासोहरु हाम्रो निकायका अधिकारीहरुले गरेका कमी कमजोरीहरुलाई गृहमन्त्रीकै तहबाट हेर्ने एउटा संयन्त्र बनाउने तयारीमा छौँ । त्यसका लागि छलफल अन्तिम चरणमा छ । त्यस्तो हुँदा सोझै गृहमन्त्रीलाई पनि खबर आउने र आम जनमानसको चेतनालाई मध्यनजर राख्न सकिन्छ भन्ने लागेको छ । सोझै हामीसम्म आईपुग्ने संयन्त्रको लागि अन्तिम तयारीमा छौँ ।’
यस्तै, उहाँले सांसदहरुले सुरक्षाको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै सुविधाका नाममा राष्ट्रसेवक कसैको भाडा माँझेर, लुगा धोएर र अगाडि पछाडि हल्लिएर नहिँड्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सांसदहरुले सुरक्षा माग गर्दा त्यसको अवस्था हेरेर गम्भीरतापूर्वक लिइएको छ । तर, सुविधाका नाममा हाम्रा राष्ट्रसेवक कसैको भाडा माझेर, लुगा धोएर बस्दैनन् र अगाडि पछाडि हल्लिएर हिँड्दैनन् । आवश्यकताका आधारमा गृहमन्त्री गम्भीर र जिम्मेवार छ । तर, कानुनी अधिकारको दुरुपयोग गर्ने हो भने त्यसलाई हामी स्वीकार गर्न सक्दैनौ ।’
उहाँले राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने मानिस पदको लायक नभएको भन्दै आफ्नो कार्यकालमा कहीँकतै त्यसको गुन्जायस नहुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुदैन । राजनीतिक वा अन्य पूर्वाग्रहम आफ्नो कार्यकालमा आफ्नो तर्फबाट कहीँकतै त्यसको गुन्जायस नहुने कुराको सुनिश्चित व्यक्त गर्न चाहन्छु । कानुनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ, हामी यसमा सचेत छौँ ।’
उहाँले विधिको शासनलाई ध्यानमा राखेर कानुन पालना गर्ने कुरामा कानुन पल्टाउने भन्दै कानुनभन्दा बाहिर रहेर प्रतिशोध राख्ने काम आफूबाट नहुने पनि बताउनुभयो । सहकारी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख भएको स्पष्ट पार्नुभयो ।
‘उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,’उहाँले भन्नुभयो ।
उहाँले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताउनुभयो ।
त्यस्तै, उहाँले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिनुभएको छ । उहाँले पहिला थुन्ने र कुरा सुन्ने काम चौधरीको हकमा सरकारले नगरेको स्पष्ट पार्नुभयो ।
‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ,’ उहाँले भन्नुभयोे, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दूषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’
गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे पनि स्पष्ट जवाफ दिनुभएको छ । ‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उहाँले भन्नुभयो, ‘हतियारको मालिक एकजना देखियो । तर, प्रयोग अर्कैले गरेको पाइयो । चलाउने व्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’ उहाँले कसैलाई बिना कारण छाड्नुपरे आफैँ पद छाड्ने पनि बताउनुभयो ।