रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन : उपसभापति वाग्ले

24

काठमाडौँ, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि  रास्वपाजस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उहाँले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण छ । जलेश्वर बैठक अगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होइन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुविधा रहने छैन । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ ।’

यस्तै, उहाँले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ । राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुलवादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौँ । संविधानभित्र नै रहेर बोलेका छौँ र सुधार गर्ने भनेका छौँ । त्यसमा टेकेर अगाडि बढ्ने छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...