कांग्रेसलाई ओलीको कटाक्ष : नयाँ जमातको थोत्रो पार्टी

79

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुगेको कांग्रेसलाई नयाँ जमातले बनेको थोत्रो पार्टी भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्बोधन गर्नुहुँदै उहाँले नेपाली कांग्रेस अन्धकारको प्रतिनिधित्व गर्ने पार्टी भन्दै कटाक्ष गर्नुभयो ।

‘नेपाली कांग्रेसमा धेरै पहिला समाजवाद भन्ने शब्द थियो, त्यो अहिले कतै उक्किएको छ, कतै भत्किएको, यस्तो हालतको छ । समाजवाद कस्तो हो भनेर सोध्यो भने बिपीको टाउकोमा लगेर राख्छन् । अहिले नयाँ जमातले बनेको थोत्रो पार्टी एक मात्र नेपाली कांग्रेस हो,’ उहाँले भन्नुभयो, ‘थोत्रो पनि अलि अलि काम लाग्छ, काम पनि नलाग्ने बन्छ त्यसलाई पत्रु भन्छ । नेपाली कांग्रेसले संगठन गर्दैन । अन्धकारको प्रतिनिधित्व गर्छ । त्यसकारण उसले धेरै मेहनेत गर्नु पर्दैन । हामी परिवर्तनकारी शक्ति भएको हुनाले हामीले मेहनेत गर्नुपर्छ ।’

उहाँले कुनै राजनीतिक पार्टीसँग पनि केही नीति नभएको भन्दै सबैले एमालेको नीति लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गर्ने गरेको दाबी गर्नुभयो । नयाँ भनिएका दलहरुसँग पनि नयाँ विचार नभएको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पार्टीसँग पनि अहिले नीति छैन, उनीहरुलाई एमालेको नीति भत्काउनु मात्रै छ । कसैसँग पनि आर्थिक, औद्योगिक, वाणिज्य, कृषि, सामाजिक न्यायसम्बन्धी कुनै पनि नीति छैन । हामीसँग लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गरेको छ । नयाँ पार्टी विचारले नयाँ छैन ।’

एमालेलाई देश चलाउन सक्ने हिसाबले बलियो पार्टी बनाउन उहाँले आह्वान गर्नुभयो । २०८१ सालमा पार्टीलाई अराजकताबाट मुक्त गरेर समृद्ध बनाउनुपर्ने पनि उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...