नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा

56

काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको बताउनुभएको छ ।

मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले राजनीतिमा छट्टुहरू हाबी भएको भन्दै अहिलेको अवस्थामा नविन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महसुस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नवीन्द्रराज जोशीको अभावको महसुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ । अहिलेको अवस्थामा पार्टीभित्र इमान्दार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढी चाहिएको छ । किनभने राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू हाबी भएको अवस्थामा हामीलाई धैर्य, गति र मति भएको मानिस चाहिएको छ । हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ । त्यसलाई कार्पेटभित्र राखेर हुँदैन । सफा गर्नैपर्छ । हाम्रो मति ठिक बनाउनु पर्छ र लय समाउनैपर्छ ।’

उहाँले सिंगो समाज परिवर्तनको लागि तयार भएको भन्दै यसको लागि रुपान्तरणको एजेण्डाहरु आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो तर त्यसलाई चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्छ । त्यसलाई शक्ति बनाउनु पर्नेछ । सिंगो समाज परिवर्तनको लागि तयार छ । तर, त्यसको लय समाएर, परिवर्तन गर्नका लागि हामीलाई रुपान्तरणको एजेण्डाहरु चाहिएको छ ।’

दिंवगत नेता जोशीको प्रशंसा गर्नुहुँदै महामन्त्री थापाले भन्नुभयो,‘नवीन दाइको लागि लोकतन्त्र भनेको जीवन हो । यसको साथै उहाँको अर्को महत्वपूर्ण विषय भनेको लगनशिलता र मेहनत नै हो । यो कुरा हामीले सधैँ सम्झनामा राख्नुपर्छ । पार्टीमा उहाँको कमि, अभाव अहिले पनि महशुस हुन्छ ।’

सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताउनुभयो । सत्तारुढ गठबन्धन स्थायी नहुने उहाँको दाबी थियो । कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...