काठमाडौँ, १३ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्नुभएको छ। सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उहाँले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिनुभयो ।
उहाँले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोकेको बताउनुभयो । ‘फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भन्नुभयो,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’
अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले फिल्म हेर्नुभएको थियो । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताउनुभयो ।
‘फिल्मको सुरुवातदेखि नै म हाँसिरहे । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको छ । मैले यो श्रृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, नेत्री ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्कालगायतले भेटेर धन्यवाद दिनुभएको थियो ।
फिल्मलाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसक्नुभएको छ ।
षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।
गत चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ रिलिज फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।