काठमाडौँ, ८ चैत । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा प्रस्तुत भएको उल्लेख गर्दै छिट्टै कार्यान्वयनमा जाने बताउनुभएको छ ।
बुधबार नेपाल जनप्रशासन संघद्वारा काठमाडौँमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफलमा सभापति खतिवडाले लामो समयपछि संघीय निजामतीसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसमा पर्याप्त छलफलको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नियम कानुन र ऐनहरु जति निर्माण गरिन्छ, हाम्रा लागि भन्दा पनि सम्बन्धित समस्याबाट गुज्रेकाहरुका लागि हो । धेरै पहिले निर्माण भएको संघीय निजामती सेवासम्बन्धी विधेयक फेरि संसद्मा प्रस्तुत भएको छ । यसमा अझै केही परिमार्जनहरु आवश्यक छन् । जस्ताको तस्तै पारित हुने सम्भावना एकदम कम देखेको छु । स्थानीयलाई संघमा ल्याउने कि नल्याउने प्रदेशलाई संघको अधिकार दिने कि नदिने यावत विषयहरु छन् । लामो समयपछि आएका छौं । पछि पछुताउने गरि निर्णय नगर्ने योजनामा हामी छौँ ।’
सभापति खतिवडाले विधेयक विशेषगरि कर्मचारीको हकहित र जनताको सरोकारका लागि निर्माण गरिएको उल्लेख गर्दै सबै पक्षको सकारात्मक प्रतिक्रियालाई समावेश गर्दै अगाडि बढाइने बताउनुभयो ।