इलाम, ४ चैत । आगामीदो वैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ ।
शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले जनाउनुभएको छ ।
उम्मेदवारीको निवेदन दिनका लागि एक÷एक जना प्रस्तावक र समर्थक, राजनीतिक वैयक्तिक विवरण, पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रुपले सक्रिय रहने प्रमाणसहितको प्रतिबद्धता पत्र माग गरिएको छ ।
इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । सोही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा र नगेन्द्र कुमाल आकांक्षी हुनुहुन्छ ।
उम्मेदवार चयनका विषयमा केन्द्रीय तहमा पनि छलफल चलिरहेको छ । केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा स्थानीय स्तरमा आकांक्षीका सवालमा सर्वेक्षण गरी लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनेगरी छलफल चलिरहेको छ । तर, गुटगत कुरा नमिल्दा उम्मेदवार चयन पेचिलो बन्दै गएको छ । इलाम २ को उपनिर्वाचनलाई शीर्ष दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।