देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री प्रचण्ड

64

पोखरा, ४ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुग्नुभएका प्रचण्डले आइतबार बिहान पार्टीका अगुवा नेता(कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउनका निम्ति नयाँ समीकरण बनाएको जिकिर गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’

प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताउनुभयो । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ दाहाल सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल, पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गर्नुभयो ।

केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहाललको दाबी छ । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...