काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाउनुभएको छ । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे ।
प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले विश्वासको मत दिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।
त्यतिबेला संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उहाँको नाम लेखिएको छ ।
त्यसबेला नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए ।
राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो ।
सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उहाँले १७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।