काठमाडौँ, ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभामा उहाँले स्वार्थ मिले टाँसिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जति नै सिद्धान्तको लेप लगाएपनि अहिलेको यो सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुटिने । सत्ता निर्माण हुँदा बनेको ७, ८ बुँदेबाट पनि त्यही देखिन्छ । देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्तालाई आफ्नो सुरक्षा कबजको रुपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो ।’
यस्तै, उहाँले सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी नहुने भन्दै गठबन्धनलाई राप्रपाले विश्वासको मत नदिने बताउनुभयो । राजनीतिप्रति धेरै अविश्वास पैदा भएको भन्दै जनतापनि राजनीतिबाट निराश भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘किन यस्तो हुन्छ कि एउटा नेताले अघिल्लो दिन अर्को नेतालाई अछुतो जस्तो व्यवहार गर्छ र भोलिपल्टै त्यही नेता महान र राजनेता हुन्छ यस्तो भएपछि राजनीतिप्रति जनताको विश्वास कसरी बढ्छ ।’