काठमाडौँ, २९ फागुन । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसद्मासमेत महिला हिंसा कायमै रहेको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उहाँले संसद्मा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखिम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिला सांसदहरुलाई अहिले पनि हिंसा गरिन्छ । महिला पत्रकारलाई पनि उत्तिकै गाह्रो छ । बलात्कार गरिन्छ, ह्यारेसमेन्ट गरिन्छ, अगाडि बढ्न दिइँदैन । समाजका लागि आवाज उठाइरहेका महिला सांसद तथा निडर र निर्भिक भएर लेखनका लागि डटिरहेका पत्रकारका लागि राज्यले सोच्ने बेला आएको छ ।’
त्यस्तै, रानामगरले कतिपय मानिसहरुले प्रनिधिसभामा उपसभामुख कुनै भूमिका हुँदैन भन्ने गरेको उल्लेख गर्दै उपसभामुख भएर गर्न सकिने कामहरु सडकमा कराएर गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले सरकारको पाँच पैसा नखाइकन कयौँ बच्चाहरुलाई हुर्काएकी छुँ । मेरो मेहेनतले शून्यबाट सुरु गरेको हुनाले आज मैले जुन पद पाएकी छु, यो मेरो लागि महत्वपूर्ण उपलब्धि हो जस्तो मलाई लाग्छ । यहाँ बसेर म जुन काम गर्न सक्छु यति काम सडकमा कराएर हुँदैन । धेरैले भन्ने गर्नु भएको छ संसद्मा उपसभामुखको खासै काम हुँदैन, सभामुखले आराम गर्दा, खाजा खाँदा काम लाग्ने पद हो । तर मलाई यस्तो लाग्दैन । म एउटा संवैधानिक परिषद्की सदस्य हुँ ।’
मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पत्रकारको महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला पत्रकारको सुरक्षाका लागि सोच्ने बेला आएको उहाँको भनाइ थियो ।