काठमाडौँ, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल बहुमतले चुनिनुभएको छ ।
मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिटसहितको पहिलो पार्टी नेकपा (माओवादी केन्द्र)का सांसद हुनुहुन्छ । सभामा ५६ सांसद उपस्थित थिए । उहाँलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।
यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा पराजित हुनुभएको छ । शर्माको पक्षमा जम्मा १७ मत खसेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सुनाउनुभयो । शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
तर, शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नै सभाले निर्वाचन पूर्व नै अस्वीकृत गरेको थियो ।