रास्वपाले इलाम–२ को उपचुनावमा उम्मेदवारी दिने

52

काठमाडौँ, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङमा नलिने निर्णय भएको छ । साथै सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो ।’

बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणका लागि बनाएको नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो ।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । अघिल्लो गठबन्धनमा दलहरुले सीट बाँडफाँट गरेर सहमतिमा उम्मेदवारी दिँदै आएका थिए । यसपटकको गठबन्धनमा आफू सामेल भए पनि निर्वाचनमा भने भाग लिने निर्णय रास्वपाले गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...