राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : को हुन् कांग्रेसका उम्मेदवार युवराज शर्मा ?

66

काठमाडौँ, २८ फागुन । सत्ता गठबन्धनमा फेरबदल नआएको भए राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला निर्वाचित हुने लगभग निश्चित थियो । सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नै गठबन्धनमा प्रस्ताव ल्याएका थिए, कांग्रेसवृत्तमा सर्वसहमति थियो । तर, गठबन्धन फुटेर चुनाव हार्ने निश्चित भएपछि कांग्रेसलाई उम्मेदवार पाउन मुस्किल पर्यो ।

आफू निर्वाचित नहुने निश्चित भएपछि सिटौला पछि हटे । आइतबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा सिटौलाको ठाउँमा आनन्द ढुंगानाको नाम आयो, तर ढुंगानाले अस्वीकार गरे । त्यसपछि कमला पन्तको नाम प्रस्तावमा आयो, तर पन्तले पनि हार्ने निश्चित रहेको निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताउँदै पछि हटिन् । त्यसपछि सभापति देउवाले सम्झिए– आफ्ना सहयात्री युवराज शर्मालाई ।

जीवनका पाँच दशक कांग्रेसको राजनीतिमा खर्चिएका शर्मा आफूलाई माथिबाट ‘पुल’ गरिदिने नेता नहुँदा पछि परेको बताउँछन् । आइतबार सभापति देउवाले अकस्मात् फोन गरेर राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्न ‘अफर’ गर्दा उहाँले हार्ने वा जित्नेबारे सोच्नुभएन, बरू पार्टीले जिम्मेवारी दिएको ठानेर सहजै स्वीकार गर्नुभयो ।

‘मैले पुरै जीवन कांग्रेसमा बिताएँ । जनताका माझमा बसेर काम गरेँ । मलाई तलबाट तपाई माथि जानुपर्छ भनेर ‘पुस’ गर्ने कार्यकर्ता थिए, तर माथिबाट ‘पुल’ गर्ने नेता थिएनन्, नातेदार थिएनन्, त्यही भएर राजनीतिमा पछि परेँ,’ शर्माले भन्नुभयो, ‘मलाई सभापतिजीले उम्मेदवार बन्नुप¥यो भनेपछि हार्ने वा जित्ने भन्ने सोचिनँ । बरू पार्टीले महत्वपूर्ण अवसर दिएको ठानेर स्वीकार गरेको छु ।’

शर्मा लोकतन्त्रमा प्रतिवद्धमात्रै छैनन्, पूर्ण विश्वास पनि राख्छन् । ०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका ७३ वर्षीय शर्माले आफू लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको संसद्को रोष्ट्रमबाटै प्रमाणित गरिसक्नुभएको छ ।

‘लोकतन्त्रमा कसैको हार हुँदैन । बरू सबैको जित हुन्छ,’ पार्टीले हार्ने बेलामात्रै उम्मेदवार बनाएको जस्तो लाग्दैन भन्ने प्रश्न गर्दा शर्माले जवाफमा भन्नुभयो, ‘आज उम्मेदवारी दिएँ, मतदान हुनै बाँकी छ । अहिले नै कसले जित्छ भनेर भन्न मिल्दैन । किनभने हिजो रामवरण यादव राष्ट्रपतिको उम्मेदवार हुँदा पनि पार्टीको बहुमत थिएन, तर पनि उहाँ राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।’

लोकतन्त्रप्रति मात्रै होइन, वर्तमान लोकतान्त्रिक संविधानप्रति पनि शर्माको उत्तिकै प्रतिबद्धता छ । ‘संविधानका आधारभूत चरित्र जे हुन्, कम्तिमा ती विषयहरूमा हामी पूर्ण प्रतिबद्ध हुनुपर्छ, ती विषयलाई अपरिवर्तनीय ठानेर तिनको कार्यान्वयनमा लाग्नुपर्छ,’ राष्ट्रिय सभामा उहाँले पटक पटक भन्नुभएको छ ।

राष्ट्रिय राजनीतिमा उहाँको नाम आइतबार कांग्रेसले उम्मेदवार बनाएपछि मात्रै चर्चामा आयो । तर, शर्मा भने ०२० सालदेखि नै राष्ट्रिय मुद्दामै सक्रिय राजनीति गरिरहनुभएको छ । विद्यार्थी उमेरमै जनताको अधिकारका लागि पञ्चायतविरुद्ध संघर्षमा उत्रिनुभएकाका शर्माले पटक–पटक जेलनेल भोग्नुभएको छ ।

पढ्नका लागि बनारस जानुभएका उहाँले ०२५ सालमा बिपी कोइरालालाई भेटे, त्यतिबेलासम्म उहाँलाई कांग्रेसका बारेमा धेरै ज्ञान नै थिएन, तर बिपीले कांग्रेस र पञ्चायतविरोधी आन्दोलनबारे बुझाएपछि उहाँ कांग्रेसमा लाग्नुभयो ।

नेपाल विद्यार्थी संघ गठन हुँदा संस्थापक सदस्य बन्नुभएका उहाँ भरतपुर अधिवेशनबाट शेरबहादुर देउवा सभापति हुँदा उपसभापति हुनुभयो । त्यसपछि निरन्तर पार्टी राजनीतिमा सक्रिय उहाँ शिक्षण पेशामा लाग्नुभयो । शिक्षक हुँदा पनि आन्दोलन भने छोड्नुभएन ।

नेपाल शिक्षक संघ, बाँके जिल्ला अध्यक्षसम्म भएर काम गर्नुभयो । ०३३ सालमा पार्टीकै जिल्ला सचिव हुनुभयो । ०३६ सालको जनमत संग्रहमा शर्माले नेतृत्वदायी भूमिका खेले । पछि शिक्षण पेशा छोडेर पञ्चायतविरुद्ध आन्दोलनमा होमिएका उहाँ ०४५ सालमा जेलमा रहेकै बेला पार्टीको जिल्ला सभापति चुनिनुभयो ।

‘मैले जिल्ला सचिवको रुपमा पार्टी चलाएँ । त्यहीबेला नेताहरुको चाहनामा सुशील कोइरालालाई जिल्ला कार्यसमितिको सदस्य बनाइयो,’ उहाँ भन्नुहुन्छ, ‘पछि म सभापति भएँ, संगठन मैले गरेँ, तर पहिलो निर्वाचन हुँदा पार्टीले सुशीलजीलाई उम्मेदवार बनायो । माथिबाट ‘पुल’ गरिदिने नेता हुँदा उहाँ अघि लाग्नुभयो ।’

त्यसपछि भने उनी पार्टीभित्र संघर्षमा होमिनुभयो । ०५१ सालको निर्वाचनमा पार्टीभित्रै विभाजन भयो, उहाँ नेता गणेशमान सिंहको समर्थनमा बाँके–३ बाट बागी उम्मेदवार हुनुभयो । त्यसबेला राप्रपा निर्वाचित भयो, कांग्रेसका आधिकारिक उम्मेदवार सुशील कोइराला दोश्रो र उहाँ तेश्रो हुनुभयो ।

बाँकेको सभापति भइसकेका उहाँले त्यसपछि पार्टीको केन्द्रमा पहुँच बनाउन सक्नुभएन । ‘जीवनभरि लगानी गरेँ, पार्टीको काम गरेँ । तर, उहाँले कहिल्यै पनि अवसर दिनुभएन । उहाँ पार्टीको सभापतिसम्म हुनुभयो, प्रधानमन्त्री पनि हुनुभयो,’ शर्मा भन्नुहुन्छ, ‘म लामो समय अवसरहरूबाट बञ्चित भएँ, त्यसको कारण म स्वयम् पनि हुँ । किनभने मैले पार्टीमा राजनीति गरेँ, तर राजनीतिभन्दा बढी आन्दोलनकारी रहेँ । परिवर्तनको पक्षमा रहेँ । त्यही आन्दोलनकारीको स्वभावले मेरो सुशीलजीसँग टकराव रह्यो । र, म अवसरहरूबाट टाढा रहेँ ।’

कोइराला रहुँञ्जेल उहाँसँग राजनीतिक संघर्ष गरेका शर्मा कोइराला बितेपछि भने सभापति देउवाको नजरमा पर्नुभयो । देउवाले नै ०७८ सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर जिताएका उहाँ अहिले देउवाकै आड पाएर राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...