काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण सबैको दायित्व भएको बताउनुभएको छ ।
सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवाले ल्होसार जस्ता पर्व र सम्पूर्ण सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि जीवन्त बनाइ राख्नु सबै नेपालीको दायित्व हुने बताउनुभयो ।
उहाँले मुख्यतः हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको बताउनुभयो ।
‘विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरु छन् । तिनलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको छ,’ सभापति देउवाले भन्नुभएको छ ।
लोकतन्त्रमा मात्र सबै जातजाति, सबै भाषाभाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै सभापति देउवाले एकअर्काको भाषा संस्कृति र परम्पराको सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।