काठमाडौँ, २७ फागुन । प्रधानमनत्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सत्ता समिकरणको सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले राजनीतिक संयन्त्र बनाएको छ ।
आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो ।
सिंहदरबारमा गठित १० सदस्यीय राजनीतिक संयन्त्रमा सत्तामा सामेल पाँच दलका तर्फबाट दुई दुई जनालाई समावेश गरिएको छ ।
गठित संयन्त्रमा माओेवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल रहनुभएको छ ।
सत्ता समीकरणमा सामेल पाँचै दलबाट आएका धारणालाई समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ ।
सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ ।