काठमाडौँ, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढंगले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तब्य’ नामक कार्यक्रममा उहाँले ठुलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढंगले खराब भाष्य खडा गरिँदैछ । यो एकदमै गलत छ । महिलाको अधिकारलाई अक्षुण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यहि भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमाभित्र राख्नुपर्छ कि पर्दैन ? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौँ ।’
उहाँले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठुलो उपलब्धि प्राप्त भएको बताउनुभयो । देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उहाँको भनाइ छ ।