भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दाउमा प्रचण्ड

47

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै वन्धुलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको थाहा भएको छ ।

सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरुलाई सहमत गराएको माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रले बताएको छ ।

प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले नेपाल न्यूज बैंकसँग बताएको छ । नारायणप्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनित हुनुभएका थिए ।

यसअघि चितवन निवासी नारायण दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो ।

राष्ट्रिय सभालाई विज्ञहरुको सभा भनिए पनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रुपमा विकास गर्दै आएका छन् ।

सांसद दाहाल प्रधानमन्त्रीका साख्यै भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन् । विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ता बाहिर रहन दिनुभएको थिएन । यसपटक भने उहाँलाई संसद्को माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उद्देश्य प्रधानमन्त्रीको रहेको बताइएको छ ।

सांसद दाहालले आफू छ वर्षे अवधिको सांसद भएको बताउँदै अब चार वर्ष कार्यकाल बाँकी नै रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका तीन सदस्य मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान रहेको छ । तीमध्ये एक स्थान अहिले खाली रहेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल मन्त्री परिषद्को सिफारिसमा मनोनित गर्ने प्रावधान छ ।

Share This:
सम्बन्धित खबर
Loading...