माओवादी सांसदलाई अनिवार्य उपस्थितिको ‘ह्वीप’

22

काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

‘आजको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तनपछि माओवादी र गठबन्धनमा संलग्न अन्य दलका नेताहरुको भूमिकाका बारेमा छलफल भएको छ । खास गरेर प्रतिनिधि सभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदै छ । अध्यक्ष तथा उपाध्यक्षका लागि गठबन्धनभित्र एकप्रकारको सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘यी सबै विषयवस्तुहरुलाई मध्यनजर गर्दै माओवादी केन्द्रका सांसदहरुलाई प्रतिनिधि सभामा विश्वासको मत दिने बेलामा र राष्ट्रिय सभामा अध्यक्ष एवं उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित हुनका लागि निर्देशन जारी गर्ने निर्णय भएको छ ।’
त्यस्तै, बैठकमा यही फागुन १४ गते प्रस्तुत भएको आउँदो आर्थिक वर्षको प्रि–बजेटको सन्दर्भमा आवश्यक छलफल र परिमार्जन आवश्यक रहेको भन्दै बजेटको प्रभावकारिताका विषयमा विचार राख्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले थालेको सुशासन र समृद्धिको अभियान अगाडि बढाउन अन्य दलहरुसँग सहयोग र सहकार्य गर्नेबारेमा छलफल गरेको पाण्डेले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले सुशासन र समृद्धिको अभियान अगाडि बढाउनका लागि सबैले मिलेर अगाडि बढ्न सहयोग गर्ने कुरा गर्नुभएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...