विपक्षको भूमिकामा कांग्रेसको परीक्षा सुरू

25

काठमाडौँ, २४ फागुन । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठुलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ । गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठुलो दलको हैसियत दिएका थिए । तर, संसद्को पहिलो बैठकमा प्रवेश नगर्दै ऊ एक्लिन पुगेको थियो, निर्वाचनअघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले)सँग गला मिलाउन पुगेको थियो ।

त्यसपछिको नयाँ समीकरणमा फेरि माओवादीलाई सरकारको नेतृत्व दिएर नेपाली कांग्रेस सहयोगीको भूमिकामा सीमित रह्यो । हालैको आकस्मिक हलचलपछि फेरि उ सत्ता बाहिर परेको छ । त्यसैले आज बस्ने प्रतिनिधि सभा बैठकमा संसद सचिवालयले नेपाली कांग्रेसका लागि विपक्षी लहरमा आसनको प्रबन्ध गरेको छ ।

संसदीय राजनीतिमा जेठो दल मानिन्छ नेपाली कांग्रेस । २०१५ सालमा सम्पन्न संसदको पहिलो निर्वाचनपछिको पहिलो सभामुख नेपाली कांग्रेसका संस्थापक नेतामध्येका कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । त्यसपछि २०४८ को संसदीय निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेता दमन नाथ ढुंगाना सभामुखको जिम्मेवारीमा आउनुभएको थियो । त्यसपछि पनि नेपाली कांग्रेसका नेताहरु तारानाथ रानाभाट र रामचन्द्र पौडेलले सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

त्यसपछि एमालेका नेता सुवास नेम्वाङ र माओवादीका ओनसरी घर्ती तथा अग्नी सापकोटा हुँदै अहिले एमालेका नेता देवराज घिमिरेले सभामुखको भूमिका निर्वाह गरिरहनुभएको छ ।

नेपाली कांग्रेसले वामपन्थी दलहरुबीच सत्ता गठबन्धन बनिसकेपछि आफू जिम्मेवार प्रतिपक्षमा रहने बताएको छ । पछिल्लो निर्वाचन पछिको प्रतिनिधि सभामा प्रतिपक्षको उपस्थिति नै अनुभव नभएको भनेर सर्वत्र आलोचना भैरहेको थियो । एमालेसहितका गठबन्धन बाहिरका दलहरुले पनि संसदको महत्वपूर्ण पक्ष विपक्षको उपस्थिति दर्शाउने गरी भूमिका निर्वाह नसकेका भनी टिकाटिप्पणी पनि हुनेगरेका थिए । अब नेपाली कांग्रेस त्यो स्थानमा आइपुगेको छ । संसदीय व्यवस्थाको पक्षपाती मानिने उसले अब संसदमा विपक्षको भूमिका कस्तो हुने छ भनेर व्यवहारमा सिद्ध गर्नुपर्ने छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकको आसन व्यवस्थानमा नयाँ गठबन्धनका आधारमा दलहरु बस्नेछन् । संसद् सचिवालयका अनुसार दलहरुसँगको परामर्शपछि सिट व्यवस्थापन गरेको छ ।

सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, आम जनता पार्टी रहने छन् भने मुख्य प्रतिपक्ष नेपाली कांग्रेस र अन्य प्रतिपक्षी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा बस्नेछन् ।

सत्ता गठबन्धनको दौडधुपले गर्दा संसदले प्रिबजेटबारे छलफल गर्न पाएको छैन । अब नयाँ गठबन्धन सरकार बनिसकेकाले त्यसमा प्रवेश हुने छ । अरु विषय नहुँदा संसदको कार्यसूचीमा राखिने विषयमा पनि समस्या परेको सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आव २०७९–८० को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । कार्यसूचीमा राख्ने अरु बिषय नभएकाले आजपछि बस्ने बैठक सात दिनपछि फागुन ३० गतेसम्म सारिएको छ ।

निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)माथिको अवरुद्ध भएको छलफल पुनः सुरु गर्नका लागि सभामुखले प्रधानमन्त्रीसँग परामर्श गरेर छलफल गर्ने मिति तय गर्नुहुने छ ।

माओवादी नेता वर्षमान पुन अर्थमन्त्रीको जिम्मेवारीमा आएकाले निवर्तमान अर्थमन्त्रीले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने वा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने विषयमा भन्ने कुरा नयाँ गठबन्धनको निर्णयमा निर्भर रहने छ ।

Share This:
सम्बन्धित खबर
Loading...