माओवादीको पछिल्लो निर्णयले अतिवादलाई मलजल गर्‍यो : शंकर भण्डारी

23

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका नेता एवम् सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले नेकपा (माओवादी केन्द्र)का निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाएको, आपसी अविश्वास सिर्जना गरेको र अतिवादलाई मलजल गर्ने काम गरेको बताउनुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले लोकतान्त्रिक र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आब्हान पनि गर्नुभएको छ । उहाँले भन्नुभयो,‘नेपालमा पछिल्लो समयमा घटित राजनीतिक घटनाक्रमले देशलाई थप अस्थिरतातर्फ लैजाने र नागरिकमा थप निराशा सिर्जना गर्ने अवस्था उत्पन्न भएकोमा सबै राष्ट्रबादी शक्तिमा चिन्ता र चासो बढेको छ । नेकपा (माओवादी केन्द्र)का निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाउने, आपसी अविश्वास सिर्जना गर्ने र अतिवादलाई मलजल गर्ने काम गरेको छ । त्यसबाट मुलुकलाई जोगाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता हो भन्ने तथ्यलाई मनन गर्नु हामी सबैको दायित्व हो ।’

नेता भण्डारीले देश र जनताको हितलाई शिरोपर गर्दै विद्यमान संकटबाट मुलुकलाई निकास दिनका लागि लोकतान्त्रिक परिपाटीका पक्षधर, वैदिक सनातन हिन्दु धर्ममा विश्वास राख्ने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट भएर अघि बढनका लागि आह्वानसमेत गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...