काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजमा जनअपेक्षाअनुसारको व्यवस्था बहालीमा बाधा रहेकाले माओवादी क्रान्तिकारीहरू शान्त बस्न नमिल्ने बताउनुभएको छ ।
राजधानीमा सोमबार ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रियामा उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड चलिरहेकाले चुप लागेर बस्न नमिल्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले नायकहरु अपराधी र अपराधीहरु नायकजस्तो बन्न थालेका छन् । क्रान्तिमा हारेका मान्छेहरुले कुण्ठा बोक्ने विषय जनयुद्ध होइन । जनयुद्धको जगमा नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड छ । दलाल र पुँजीवादीहरुले त्यसलाई कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, कम्युनिस्टहरु समाजवादीहरु जनताका लागि लडिरहेका छौं । कम्युनिस्टहरुको अन्तिम गन्तव्य लोकतान्त्रिक गणतन्त्र नेपाल मात्र होइन ।’
जनताको अपेक्षाअनुसारको व्यवस्था बहालमा अझै बाधाहरु रहेकाले क्रान्तिकारी शक्ति चुप लागेर बस्न नकिल्ने तर्क उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘क्रान्तिकारी, समाजवादीहरू, कम्युनिष्टहरुले नै देश परिवर्तन गर्नुपर्छ । यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ । कस्तो भने माओवादी भनेको शान्त बस्न नसक्ने शक्ति पनि हो । हेर्नुस् है आज यहाँ प्रचण्ड अध्यक्ष पनि आउनुभएको छ । मैले त पहिलेदेखि नै चलाउनुस् भन्ने सुझाव थियो। उथलपुथल पार्नुपर्छ । समाजमा जनतामा चिच्याइरहेका छन् । बेलामा माओवादी क्रान्तिकारीहरू शान्त बस्न मिल्दैन ।’