नाउपा नयाँ बन्ने गठबन्धनमा जान्छ : अध्यक्ष चौधरी

25

काठमाडौँ, २१ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदै छ । कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रकृया जारी छ ।’

अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरुमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताउनुभयो । तर, उहाँले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्व रहने बताउनुभयो ।

नयाँ बन्ने सत्ता समीकरणमा सहभागी हुने बताउनुभएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिनुभयो ।

‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौँ । विगतमा हामीले पटक पटक धेरै कुराबाट धोका खाएका छौँ, धेरै कुराहरुमा हामीलाई समावेश गरिएको छैन । तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौं’ चौधरीले भन्नुभयो ।

जनतामा अस्थिर राजनीतिका कारण चरम निराशा पैदा भएको उल्लेख गरेका उहाँले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...